राजनीति

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती : अध्यक्ष दाहाल

काठमाण्डौं, चैत ३० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्‍याएका छन् ।

बाँदरमुढे सहयोग समितिले शुक्रबार माडीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए । अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताए ।

यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उनले प्रष्ट्याए । घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताए ।

सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए ।

विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।

 

Share this:
Tags
Show More

Related Articles