विश्व

सरकार र तालिवानी लडाकूबीच शान्ति वार्ता हुनेमा आशंका, हिंसात्मक गतिविधि जारी

काठमाडौं, फागुन २१ –  तालिवानी लडाकूहरुले अफगानिस्तानमा जारी हिंसालाई निरन्तरता दिएपछि आगामी हप्ता हुने भनिएको शान्ति वार्तामा आशंका उत्पन्न भएको छ ।

तालिवानी लडाकूहरुले सरकारसँग वार्ता गर्ने भन्दै शान्ति सम्झौता गरेपनि दुवै पक्षले आफ्ना गतिविधिलाई निरन्तरता दिएपछि आशंका उत्पन्न भएको हो ।

शान्ति सम्झौतापछि पनि तालिवानी लडाकूहरुले १६ भन्दा बढी प्रान्तमा गरेको हमलाका कारण सुरक्षाकर्मी र सर्वसाधारण मारिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानी लडाकूहरुसँग हुन लागेको शान्ति वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् ।

उनले अफगानिस्तानको शान्तिका लागि आफूले गरेको पहलका कारण वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् ।

तालिवानीसँग अमेरिकाले गरेको सहमति अनुसार यही मार्च १० सम्ममा पाँच हजार तालिवानी कैदी र एक हजार अफगान सुरक्षाबलका कैदीहरु रिहा हुने छन् ।

तर अफगानी राष्ट्रपति असरफ घानीले गत आइतबार तालिवानीको सर्त अनुसार वार्ता नहुने प्रतिक्रिया दिएका थिए । राष्ट्रपतिको प्रतिक्रिया आएसँगै वार्ता सफल हुनेमा आशंका व्यक्त हुन थालेको हो ।

सन् २००१ मा अमेरिकाको जुम्ल्याहा भवनमा भएको आक्रमणको केही समयपछि अमेरिकाले अफगानिस्तानमा रहेको अलकायदा समूहमाथि कारवाही थालेको थियो ।

त्यसलगत्तै सत्ताबाट बाहिरिएको तालिवानी लडाकूको समूह विद्रोही शक्ति बन्न पुगेको हो ।

Share this:
Show More

Related Articles