समाचारविश्व

इटालीमा कोरोनाः मृतकको संख्या २३० पुग्यो, १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिंदै

काठमाडौं, फागुन २५ –   इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।

लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका ११ राज्यमा गरी यति ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राख्न लागिएको हो । अनिवार्य क्वारेन्टाइन आजबाट अप्रिल महिनाको शुरुसम्म रहनेछ ।

कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

मानिसहरुलाई सकेसम्म घरभित्र बस्न भनिएको छ भने क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई तीन महिनाको जेल सजायँको समेत व्यवस्था गरिएको छ ।

फुटबलका सबै प्रतियोगिता स्थगित गर्न लागिएको छ । कोरोना प्रकोपविरुद्ध लड्न अवकाश प्राप्त चिकित्सकहरुलाई समेत काममा फर्कन भनिएको छ ।

इटाली यूरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३० नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ सयबाट बढेर ५ हजार ८८३ पुगेको छ । चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३५ सय पुगेको छ ।

Share this:
Show More

Related Articles