देशसमाचारविश्व

अर्को ‘प्रेसिडेन्सियल डिबेट’मा ट्रम्प ह्वाइट हाउसबाटै सहभागी हुने


काठमाडौं, असोज २२  – आउँदो अक्टोबर १५ मा हुने  अमेरिकाका राष्ट्रपति उम्मेदवारहरूको दोस्रो बहस प्रेसिडेन्सियल डिबेट भर्चुअल रूपमा हुने भएको छ।

द कमिसन अन प्रेसिडेन्सियल डिबेटले राष्ट्रपतिका उम्मेदवारहरू डोनाल्ड ट्रम्प र जो बाइडन र प्रस्तोता स्टिभ स्कुली फरक-फरक ठाउँमा बसेर डिबेटमा सहभागी हुने बताएको छ। कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै यसरी डिबेट गराउन लागिएको कमिसनले जनाएको छ।

उक्त डिबेटमा कोरोना संक्रमण भएका राष्ट्रपति ट्रम्प ह्वाइट हाउसबाटै सहभागी हुनेछन्। अमेरिकामा आगामी नोभेम्बर ३मा राष्ट्रपतिको चुनाव हुँदैछ। चुनावअघि समसामयिक विषयम उम्मेदवारहरूलाई डिबेट गराइन्छ।

अघिल्लो बुधबार ट्रम्प र बाइडेनबीच पहिलो डिबेट भएको थियो। उक्त डिबेटमा ट्रम्प र वाइडेनबीच चर्काचर्की परेको थियो। उनीहरूबीच चुनावअघि नै न्यायाधीश एमी कोनी बार्रेटलाई सर्वोच्च अदालतमा मनोनित गर्न लागेको, अमेरिकाको स्वास्थ्य अवस्था, कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न ट्रम्प प्रशासनले गरेका काम, जातीय विभेदलगायत विषयमा बहस भयो।

बहसका क्रममा ट्रम्प र बाइडेन नीतिगत विषयसँगै व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रिएका थिए। बाइडेनले सुरूदेखि नै ट्रम्पलाई ढँटुवा भनेका थिए। एक ठाउँमा उनले ट्रम्पलाई रूसी राष्ट्रपति भ्लादमिर पुटिनको पपेट बताएका थिए।

बहसका क्रममा ट्रम्प र बाइडेनले धेरै पटक अर्काले बोल्दाबोल्दै बीचमै रोकेका थिए। सञ्चालकले सोधेका प्रश्नको उत्तर दिन नपाउँदै  ट्रम्प बीचमै बाइडेनलाई प्रतिप्रश्न पनि गर्थे।

बहसका क्रममा एक ठाउँमा त वाइडेनले दिक्क मान्दै ट्रम्पलाई चुप लाग्न भने। उनले भने- विल यु सट अप, म्यान (के तपाईं चुप लाग्न सक्नुहुन्छ)? ट्रम्पले यसरी बीच-बीचमा अवरोध गर्नु  राष्ट्रपतिको जस्तो व्यवहार नभएको पनि उनले बताए।

स्थिति सम्हाल्न सञ्चालक वालेसले भने- मलाई लाग्छ यदि हामीले दुबै जनालाई थोरै अवरोधले बोल्न दियौं भने देशको राम्रो सेवा हुनेछ। यसो गर्न म तपाईंलाई अपिल गर्छु।’

जवाफमा ट्रम्पले वाइडेनलाई लक्षित गर्दै भने,’र उनलाई पनि।’ भर्चुअल डिबेटका क्रममा अर्को वक्तालाई अवरोध गरे त्यसलाई रोक्न स्कुलीसँग ‘म्युट बटन’ हुन्छ कि हुन्न भन्ने अझै खुलाइएको छैन।

Share this:
Show More

Related Articles