देशसमाचार

हिंसाका सबै कारक तत्वहरूलाई निर्मूल पार्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर १०  –   प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति, समाज र सिंगो राष्ट्रलाई लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट बचाउँदै सभ्य र सुसंस्कारयुक्त जगमा उभ्याउनु पर्ने बताएका छन्।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा एक सन्देशमार्फत् प्रधानमन्त्रीले कतिपय गलत अभ्यास र दुःखद् घटनाका कारण बन्ने नकारात्मक छविप्रति सजग हुँदै हिंसाका सबै कारक तत्वहरूलाई निर्मूल पार्नु पर्ने उल्लेख गरेका छन्।

‘यस अभियानको उद्देश्य लैङ्गिकताका आधारमा हुने सवै प्रकारका हिंसा, विभेद, कुरीति, अन्धविश्वास अपराध, वहिष्करण र बञ्चितिकरणलाई अन्त्य गर्दै महिला र पुरुष बीच हुने गरेका सबै किसिमका विभेद र असमानता हटाउनु हो’, प्रधानमन्त्री ओलीले भनेका छन्।

लैङ्गिक हिंसा न्यूनीकरण र दोषीमाथि कारवाही गर्न कानुनी व्यवस्थालाई मजबुत बनाउँदै गएको भन्दै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘समानता र न्याय हाम्रो प्रतिवद्धता मात्र होइन, निष्ठा हो। हाम्रो यसै निष्ठापूर्ण अग्रसरता स्वरुप राष्ट्रिय लैङ्गिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुने क्रममा छ।’

‘लैङ्गिक समानता र महिला अधिकारका क्षेत्रमा संविधान कार्यान्वयनको चरणमा हामीले उल्लेखनीय उपलब्धि हासिल गरेका छौं । सन् २०१७ मा सम्पन्न तीन तहको निर्वाचनद्वारा १४,६०० भन्दा बढी महिलाहरु विभिन्न तहमा निर्वाचित भएका छन्। राजनैतिक संरचनामा महिलाको सहभागिता स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४ दशमलव ५ प्रतिशत र संघमा ३३ दशमलव ५ प्रतिशत पुगेको छ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो उपलब्धि दक्षिण एसिया तथा विश्वकै विकसित मुलुकका लागि समेत प्रेरणादायी रहेको छ। हाम्रो मुलुकमा विभिन्न विधा र फाँटहरुमा महिलाहरुले सफल नेतृत्व गरिरहेका छन्।  उनीहरू परिवर्तनका संवाहक बनेका छन्।’

Share this:
Show More

Related Articles