देशसमाचारशेयर

सामान्य अंकले बढ्यो नेप्से, नबिल बैंकको कारोबार रकम सबैभन्दा बढी

काठमाडौं, पुस १४ – मंगलबार नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२.८९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज शेयर बजारमा ०.२८ प्रतिशतको मात्रै बृद्धि भएको हो । ठूला कम्पनीको मापक सेन्सटेटिभ इन्डेक्समा भने आज ०.१३ अंकको गिरावट आएर ३८२.४५ बिन्दुमा झरेको छ ।

आज कारोबार अवधिभर कूल २०९ कम्पनीको ३७ हजार ९१६ पटकको व्यापारमा ८० करोड एक हजार ३१४ कित्ता शेयर कारोबार भएको छ भने ४ अर्ब ९ करोड २२ लाख २७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबार रकममा नविल बैंकको हिस्सा सर्वाधिक बढी रह्यो । उक्त कम्पनीको ५३ करोड १ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसैगरी शिवम् सिमेन्टको कारोबार रकम २७ करोड ९३ लाख ८० हजार रुपैयाँ बराबर रहेको छ भने ग्लोबल आइएमई बैंकको २३ करोड ५० लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

हिमालयन डिस्टीलरीको २० करोड ८ लाख १३ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ९८ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको आँकडामा उल्लेख छ ।

आज बजारमा नागरिक लगानीकोषको शेयरमूल्य सर्वाधिक बढेको छ । उक्त कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता २७८ रुपैयाँले बढेर अन्तिम मूल्य ३ हजार ६२ रुपैयाँ कायम भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९.८९ प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयर प्रतिकित्ता अन्तिम मूल्य ५०० रुपैयाँ कायम भएको छ ।

सामान्य अंकले बढेको बजारमा मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक बढी ६ प्रतिशतले गुमाएका छन् भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताहरुले पनि ४.०९ प्रतिशतले गुमाएका छन् ।

मंगलबार चारओटा कम्पनी बाहेक सबै कम्पनीको परिसूचक राताम्मे भएर बजार बन्द भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक बढी ४ प्रतिशतले बृद्धि भएको छ भने अन्य समूहको परिसूचक ३.२९ प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त समूहको परिसूचक ०.३६ प्रतिशत र निर्जीवन बीमा समूहको परिसूचधक ०.१३ प्रतिशतले बृद्धि भएको छ ।

आजको कारोबारमा हाइड्रो पावर समूहको परिसूचक सर्वाधिक बढी १.१८ प्रतिशत, विकास बैंक समूहको ०.८९ प्रतिशत, बैंकिङ समूहको ०.६३ प्रतिशत, जीवन बीमा समूहको ०.५३ प्रतिशत, वित्त समूहको ०.२५ प्रतिशत, होटल समूहको ०.२४ प्रतिशत र व्यापार समूहको परिसूचक ०.१७ प्रतिशत घटेको छ ।

Share this:
Show More

Related Articles