
काठमाडौं पुस २० – अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।
नाइजरका प्रधानमन्त्रीले शनिबार दुई गाउँमा भएको आक्रमणमा १०० जनाको ज्यान गएको अहिलेसम्म थाहा लागेको बताएका हुन् ।
इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।
ट्चोम्बान्गोउ गाउँमा भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । यस्तै जारोउम्दारेयी गाउँमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको हो।
नाइजरको इतिहासमा एकैदिन धेरैको हत्या भएको सीमित घटनामा शनिबारको आक्रमण पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् दुवै गाउँ नाइजरको मालीसँगा जोडिएको पश्चिमी सीमा क्षेत्रमा पर्छन् । पछिल्लो समय इस्लामी बिद्रोही समूहले सो क्षेत्रमा हिंसात्मक आक्रमण गर्दै आएको छ ।
अहिलेसम्म दुई गाउँमा भएका आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । तर स्थानीय मेयरलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले आक्रमणकारीहरु झण्डै १०० वटा मोटरसाइकलमा गाउँ गएको उल्लेख गरेको छ ।
उनीहरुले दुई समूहमा विभाजित भएर दुई गाउँमा आक्रमण गरेको एएफपीले जनाएको छ । आक्रमणमा अरु ७५ जना घाइते भएको स्थानीय मेयर अलमोउ हसानेले बताएका छन् ।