देशसमाचारराष्ट्रिय

उपप्रधानमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा

काठमाडौं, पुस २८ –  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा रहेका मन्त्रीहरुलाई कालो झण्डा देखाउने क्रम बढेको छ।

नेकपा विभाजित भएपछि ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई ठाउँठाउँमा दिनहुँजसो कालो झण्डा देखाउने काम हुँदै आएको छ। सोही क्रममा आज मंगलबार दिउँसो सर्लाहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाइएको छ।

दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरुले सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा कालो झण्डा देखाएका हुन्।

पोखरेलसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको नकेपाको विद्यार्थी संगठन अखिलकी नेतृ आरती लामाले जानकारी दिइन्।

‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ,’ लामाले भनिन्। यसअघि बारामा समेत उपप्रधानमन्त्री इश्वर पोखरेललाई अखिलका नेताहरुले कालो झण्डा देखाएका थिए ।

Share this:
Show More

Related Articles