देशसमाचारBanner News
नेकपा नाम र चुनाव चिह्न सूर्य नपाए आँधी–तुफान ल्याउने दाहालको चेतावनी

काठमाडौं, पुस २९ – नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिह्न र नेकपाको आधिकारिकता आफूहरूले नपाए आँधी तुफान ल्याउने चेतावनी दिएका छन्।
दाहाल–नेपाल समूहको नेकपाको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै दाहालले भने, ‘हामीले चुनाव चिह्न सूर्य र पार्टीको नाम नेकपा पाएनौं भने आँधी तुफान आउनेछ, सबैलाई चेतावनी दिएर भन्छु।
विश्वास गरौं, सवैधानिक निकायले संविधान र कानुन मिच्ने छैनन्।’दाहालले केन्द्रीय कमिटीमा आफूहरुका पक्षमा ७० प्रतिशत सदस्य रहेको दाबी गर्दै पार्टीको आधिकारिकता पनि आफूहरुले नै पाउने बताए।
उनले भने, ‘केही दिनअघि बसेको तेस्रो केन्द्रीय कमिटी बैठकमा ७० प्रतिशत बहुमत छ। हाम्रो नेतृत्वको पार्टी नै आधिकारिक हो। यसमा कसैले शका नगर्न म कार्यकर्तालाई आग्रह गर्न चाह्न्छु।’
उनले ३० प्रतिशत केन्द्रीय सदस्य नरहेको केपी ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै त्यसको विरोध गरे। अध्यक्ष दाहालले भने, ‘केपी ओलीले हामीलाई भगौडा भन्नुभएछ। हामी ७० प्रतिशतलाई भगौडा भन्ने? जोसित ३० प्रतिशत छैन ऊ रैथाने?’
उनले सविधान मिचेर पार्टीलाई लात हानेर हिँड्ने ओली समूह नै भगौडा रहेको आरोप लगाए। उनले भने, ‘लाज, घिन, सरम केही नभएको व्यक्ति केपी ओली हो।’
उनले पार्टी विधान व्यक्तिलाई सर्वेसर्वा नभनेर बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भनेर प्रस्ट रहेको बताए। दाहालले आफूहरू कमेडी सो गर्न र मानिसलाई प्रहसन देखाउन हिँडिरहेको नभई संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षामा लागिपरेको बताए।
उनले भने, ‘निर्ममतापूर्वक लोकतन्त्र र संविधान मास्ने काम भएको छ। अहिलेको अवस्थामा तपाईंहामी सबै गम्भीर बन्नुपर्ने बेला आएको छ। उपलब्धि धरापमा परेको छ।’
उनले प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनीहरुलाई जोकरको संज्ञा दिए। दाहालले भने, ‘अर्को समूहको साथीहरुले कमेडी र प्रहसन गरिरहनुभएको छ। ठाउँठाउँमा नौटंकी गर्दै हिँडिरहनुभएको छ।
साथीहरूको ताल हेर्दा जोकर जस्तो लाग्छ मलाई त।’ उनले वामगठबन्धन गर्दा छाएको खुसी लामो समय टिक्न नसकेकोमा चिन्ता व्यक्त गरे। यस्तै उनले पार्टी एकता तयारीपूर्वक नै गरिएको स्मरण गरे।