कला/साहित्यसमाचार
रहेनन् लोकगायक रत्न बानियाँ

काठमाडौं, माघ ७ – संगीतकार तथा लोकगायक रत्न बानियाँको निधन भएको छ । बानियाँको ५८ वर्षको उमेरमा राजधानीस्थित ओम अस्पतालमा बुधबार बिहान निधन भएको उनका भतिजा राजु बानियाँले जानकारी दिए ।
ग्रामीण जनजीवनलाई लोकलयमा ढालेर जीवन्त रुपमा उतार्ने लोकसंगीतका सर्जक बानियाँको करिब दुई वर्षअघि मिर्गौला फेल भएको थियो । पारिवारिक श्रोतका अनुसार सुगर तथा ब्लड प्रेसरका समेत बिरामी रहेका उनको ओममा नै उपचारको क्रममा निधन भएको हो
तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढालेका छन् । ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।
बानियाँको निधनले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताए । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् ।
बानियाँको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बिजीले बताए ।