देशसमाचारBanner News

पशुपतिमा सुनको नयाँ जलहरी, राष्ट्रपतिले आज क्षमा पूजाको समापनसहित विशेष पूजा गर्ने

काठमाडौं ,फाल्गुन १२- पशुपतिनाथमा सुनको नयाँ जलहरी (पिठिका) स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने भएकी छन् ।

मंगलबार बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मुल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिएका छन् ।

सदस्य सचिव ढकालले भने, ‘विशेष विशेष पूजाका साथ मंगलबार बेलुका ९ बजे नयाँ जलहरी स्थापना गरिएको छ । त्यसलाई मिलाउनका लागि रातभर लाग्यो ।’ नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उनले बताएका छन् ।

जलहरी राख्ने उत्तम साइत मंगलबार बेलुका ९ बजेको भए पनि त्यसका लागि भइरहेको क्षमा पूजा तथा स्थापनार्थ गरिएको विशेष पूजाको समापन बुधबार हुने भएको हो ।

सदस्य सचिव ढकालले भने, ‘गएको शनिबार (फागुन ८ गते) देखि नै क्षमा पूजा हुँदै आएको छ । मंगलबार बेलुका पिठिका स्थापनाका लागि विशेष पूजा भयो । सो पूजामा भारतको कर्नाटकबाट आउनु भएका वेदका ज्ञाता पण्डितसहित यहाँका भट्ट तथा पण्डित गरि कुल १२१ जना पूजारी सहभागी हुनुहुन्छ ।’

राष्ट्रपति भण्डारीले क्षमा पूजाको विधिपूर्वक समापन गर्ने तथा नयाँ जलहरीसहितको पशुपतिनाथको मूल मूर्तिमा विशेष पूजा पनि गर्ने क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले जानकारी दिए ।

राष्ट्रपति भण्डारी पशुपतिमा विशेष पूजाका लागि बिहान ११ देखि १२ बजेको बिचमा पशुपति क्षेत्र जाने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार पशुपतिनाथमा नयाँ जलहरी राखिएको र त्यसको विधि औपचारिक रुपमा पूरा गर्न एवम् विशेष पूजाका लागि बुधबार बिहान ११ बजेपछि जाने तयारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलारीमाथि सुनको नयाँ जलारी राख्न राखिएको हो ।

१०८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १०४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको छ ।

धार्मिक तथा सांस्कृतिक विश्वास एवम् जलहरीलाई बलियो बनाउनका लागि चार किलो सुन बाहेकको धातु मिसाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले बताए ।

जलहरीका लागि आवश्यक सुन खरिद गर्न प्रधानमन्त्री ओलीले गएको माघ १२ गते पशुपतिनाथको दर्शनका बेला घोषणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको हो । बाँकी ६० करोड रुपैयाँ कोषले खर्च गरेको हो । पशुपति परिषरको रुद्रगाडेश्वरमा निर्माण गरिएको जलहरी मंगलबार बेलुका ९ बजे स्थापना गरिएको हो ।

शिव लिंगको फेदीमा रहेको योनी आकारको संरचना जलारी हो । शिव लिंगलाई स्नान गरिएको पानी सोही जलारी हुँदै बागमती किनारको ब्रह्मनालसम्म पुग्छ । दर्शनका लागि पुग्नेहरुलाई छर्कने अघ्र्य जल पनि सोही जलारीबाट निकालिएको हुन्छ ।

Share this:
Show More

Related Articles