देशसमाचार

कामिरिताले २३औं पटक सगरमाथाकाे चुचुराे टेके, सर्वाधिक आराेहणकाे आफ्नै कीर्तिमानमा सुधार

काठमाडौं, जेठ १ – आराेही कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर आफ्नै नाममा रहेकाे विश्व कीर्तिमान भंग गरेका छन्।

उमेरले ४९ वर्षका उनले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्। यसअघि उनले २२औं पटक सगरमाथा आराेहण गरेर सर्वाधिक सगरमाथा आराेहण गर्ने पर्वताराेहीकाे रुपमा आफूलाई चिनाउन सफल भएका थिए।

आरोहण कम्पनी सेभेन समिट ट्रेक्सकाे संयाेजनमा सगरमाथा आराेहणमा गएका शेर्पाले भारतीय प्रहरीहरुकाे टाेलीकाे नेतृत्व गरेका थिए। कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा लगायतकाे टाेलीले आज बिहान ७:५० काे समयमा सगरमाथाको शिखर टेकेकाे हाे।

कामिरिताले सन् १९९४  मे १३ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए। सोलुखुम्बु जिल्लाको थामे गाउँका स्थायी बासिन्दा शेर्पाले सगरमाथाबाहेक अन्नपुर्ण चौथो, चो ओयु, ल्होत्से, माउन्ट केटु, मनासलुलागतका शिखरको सफल आरोहण गरिसकेका छन्।

शेर्पाले पछिल्लो पटक सन् २०१८ मे १६ मा सगरमाथाको शिखर चुमेका थिए। उनले हालसम्म ८ हजार मिटर उचाईमाथिका हिमालहरुको ३४ पटकसम्म आरोहण गरिसकेका छन्।

सगरमाथाबाहेक उनले ८,२०१ मिटर उचाईको चो ओयु हिमालको ८ पटक, ल्होत्सेको एक पटक, पाकिस्तानस्थित विश्वकै सबैभन्दा दाेस्राे अग्लाे शिखर माउन्ट केटुकाे एक पटक तथा मनासलुको दुई पटक सफल आरोहण गरिसकेका छन्।

पर्यटन विभागका अनुसार विश्वमा सबैभन्दा बढी सगरमाथा आराेहण गर्ने आराेहीकाे शीर्ष १० काे सूचीमा सबै नेपाली छन्। उनीहरु सबै शेर्पा समुदायका आराेही हुन्।

हिमाली जीवनसँग एकाकार भएका कारण पनि सगरमाथा आराेहणमा शेर्पा समुदायकाे विशेष उपस्थिति रहँदै आएकाे छ। कामिरितापछि ङिमा नुरु शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आराेहण गर्नेकाे सूचीमा दाेस्राे नम्बरमा पर्दछन्। उनले २१ पटक सगरमाथाकाे चुचुराे टेकेका छन्।

यस्तै  ङिमाजस्तै आप्पा शेर्पा र फुर्वातासी शेर्पाले पनि समान २१/२१ पटक सगरमाथाकाे सफल आराेहण गरिसकेका छन्।  आप्पा र फुर्वातासीले आरोहणबाट सन्न्यास लिइसकेका छन् भने ३८ वर्षीय ङिमा नुरु शेर्पा अझै सक्रिय छन्। ङिमा नुरु शेर्पा यस पटक तिब्बततर्फबाट सगरमाथा चढ्ने प्रयासमा छन्।

यस्तै आङ दोर्जी शेर्पा, छेवाङ निमा शेर्पा र मिङ्मा छिरी शेर्पाले समान १९/१९ पटक सगरमाथाकाे चुचुराेमा नेपालकाे झन्डा गाडिसकेका छन्। लाक्पा रिता शेर्पाले १७ तथा कामिरिता शेर्पा र निमा गोम्बु शेर्पा १६ पटक सगरमाथाकाे चुचुराे पुगिसकेका छन्।

Share this:
Show More

Related Articles