समाचारएक्सन स्पोर्टस्

चेन्नईविरुद्ध मुम्बईको रोमाञ्चक जित, पोलार्डको विष्फोटक ब्याटिङ

काठमाडौं, वैशाख १९ –  इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता मुम्बई इण्डियन्सले रोमाञ्चक जित निकालेको छ।

दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो।

टस जितेर मुम्बईले चेन्नईलाई पहिले ब्याटिङमा बोलाएको थियो। कप्तान महेन्द्र सिंह धोनीको टिमले चार विकेट गुमाएर २१८ बनायो।

चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे। मुम्बईको जितमा केरन पोलार्डले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे।

यस्तै क्विन्टन डी ककले ३८, कप्तान रोहित शर्माले ३५, कुर्नाल पाण्डयले ३२ तथा हार्दिक पाण्डयले १६ रन जोडे।

चेन्नईका लागि साम कुरानले ३ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो।

चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले। अविजित रहेका रायडुले ७२, अलीले ५८ तथा प्लेसिसले ५० रन बनाए। रवीन्द्र जडेजा २२ रनमा अविजित रहे।

मुम्बईका केरन पोलार्डले २ विकेट लिए। ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए। जितसँगै ७ खेलमा ८ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ। ७ खेलमा १० अंक जोडेको चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ।

७ खेलमा समान १० अंक रहेका दिल्ली र बैंगलोर क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *