Logo

१४ मंसिर २०८०, बिहीबार

‘आईडीएलई’ हैन ‘आईडीओएल’ आईजी


विनोद ढकाल


हामी त्यस्तो राजनीतिक समाजमा बस्छौं, जहाँ केही सार्वजनिक व्यक्तिहरू वास्तवमा खलनायक हुन् जसले जाने बुझेर अर्को पुस्ताको स्वास्थ्यलाई हानि गरिरहेका छन्। तैपनि राजनीतिको ‘भूत’ले सबैलाई निलिरहेको छ, उनीहरूका गलत महत्वकांक्षाको पाइलामा नयाँ पुस्ता पनि कुदिरहेको छ।

राजनीतिले समग्र राज्यको नेतृत्व गर्ने भएकाले एउटा तप्का त्यसैको लतमा पनि छ। त्यसलाई जोगाइदिने, त्यसले नेतृत्व गर्ने समाज, समुदाय र समग्र पक्षको पहिलो घेरामा सुरक्षण गरिदिने, त्यसैलाई स्यालुट गर्ने, त्यसैको ढुङ्गा खाने र कोपभाजन पनि स्वीकार गर्ने प्रहरी सेवालाई उतिसाह्रो महत्व दिइरहेका छैनौं। तर यो टिप्पणीकारले समग्र राजनीतिभन्दा पनि नेपालको प्रहरी सेवा निक्कै गर्विलो अवस्थामा रहेको पाएको छ। मानवीय स्वभावका आधारमा केही महत्वकांक्षाधारी व्यक्ति राजनीतितिर लम्किएका हुन सक्लान् तर समग्रतामा त्यस्तो छैन, न्यून प्रतिशत यसको उदाहरणीय बन्न सक्तैन।

लो प्रोफाइलमा बसेका नेपाल प्रहरीका पूर्वमहानिरिक्षक शैलेश थापाले टिप्पणीकारलाई कुनै समय भनेका थिए,‘बिनोद जी, मैले गर्ने पुलिसिङ हो त्यसमा ध्यान दिन्छु, दिएको छु। यसभन्दा बाहेक मलाई चासो र चर्चाको खाँचो छैन। त्यसको अधिक प्यास पनि जागेन कहिल्यै।’

सम्भवतः मिडियाको दुनियाँमा प्रहरी अधिकारीका रुपमा अधिक कम चर्चा भएका पात्र पनि उनै होलान्। तर, यत्तिधेरै लो प्रोफाइल र ‘डाउन टु अर्थ’ बन्नु व्यक्तिगत सन्तोष हुन्छ होला, सार्वजनिक जिम्मेवारीमा रहेपछि धेरथोर चर्चा त हुन्छ, नै।

खैर, प्रहरीका सकारात्मक पक्षको खासै चर्चा हुँदैन। गरेका काम र पूरा गरेका जिम्मेवारीको पनि चर्चा आवश्यक छ। बेथितिको चाङमा थितिको लयलाई निरन्तरता दिँदा कसको पो चर्चा हुँदैन र? लोडसेडिङको कालो दिनबाट उज्यालोको निरन्तरतामा कुलमान घिसिङको चर्चा जसरी स्वभाविक मान्नुपर्छ। लयमा बामे सरिरहेको प्रहरी संगठनभित्रको अझ गतिलो गति दिने नेतृत्वका पनि स्वभाविक चर्चालाई अस्वभाविक मान्न सकिन्न।

सरकारले ३० बर्षे सेवा अवधि नहटाएको खण्डमा आगामी महिना नेपाल प्रहरीका महानिरिक्षक (आईजी) धिरजप्रताप सिंहले एउटा गर्विलो सेवा अवधि पूरा गर्नेछन्। यदि सरकारले उनको कुशल नेतृत्वलाई अझ केही बर्षलाई निरन्तरता दिन चाहेको खण्डमा प्रहरीमा ३० बर्षे सेवा अवधि हटाउने छ र प्रभावकारीता कायम गर्नेछ। यी दुवै प्रकारका सम्भावनाबीच आईजी सिंह प्रहरीका लागि कुन अर्थका ‘आईडल’ हुन् भन्ने चर्चा परिचर्चा पनि आवश्यक देखेर यो आलेख अक्षर र शव्दमा दौडिने प्रयासमा छ।

प्रजातन्त्र प्राप्तिपछि तोरण शमशेर जबराबाट सुरु भएको प्रहरी संगठनको संरचनाको विन्दु २९औं आईजीको रुपमा सिंहको सक्रियताको कसीसम्म आईपुगेको छ। ऋब ३०औं प्रहरी प्रमुखको तयारी पनि भइरहेको छ

अंग्रेजीमा एकै स्वर भएका ‘आईडल’का दुई विपरित अर्थ छन्। एउटा idle र अर्को idol. आईडीएलईको अर्थ सुस्त, आल्सी हुन्छ। आईडीओएलको अर्थ प्रेरणादायी व्यक्तित्व हुन्छ। सिंह संगठनका लागि मात्र होइन देशका लागि पनि प्रेरणाका एक मानकका रुपमा स्थापित हुने लयमा काम गरिरहेका छन्। खासगरी अपराध अनुसन्धान र सुरक्षाका मामिलामा उनको विशेषज्ञताले उनको जागिरे जीवनका ३० बर्ष कहिल्यै पनि कमजोर प्रस्तुती दिएन। अनुसन्धानमा अब्बल रहेका कारणले नै उनले हरेक ओहदामा पाएका जिम्मेवारीलाई एउटा टिम लिडरका हैसियतमा निर्भिक सफलता उन्मुख काम गरेका थिए। उदाहरणहरू धेरै छन्।

तर यसै बर्ष भएका निर्वाचनको सुरक्षा सफलता उनका लागि अविस्मरणीय हुन्छ। छोटो कार्यकालको जिम्मेवारीमा आएको प्रहरी प्रमुखले सायदै निर्वाचनलाई सफल बनाउन सक्ला, तर आईजी सिंह यस अर्थमा सफल हुन्। परम्परागत निर्वाचन शैली रहेको नेपालमा प्रहरीले निर्वाचनमा धाँधली गराउनेसम्मका आरोप लाग्दै आएका थिए। तर, सिंहको नेतृत्व सफल थियो भन्ने उदाहरण बाहलवाला गृहमन्त्रीको पराजय एउटा उदाहरण होइन र?

७० हजार संख्या रहेको संगठनमा कसको अनुकूल वा प्रतिकूल हुन्छन् निर्णय र निर्देशन त्यो अलग पाटो हो। तर समग्रतामा ३० बर्षको सांगठनिक संरचनासँग घुलित भएर प्रभावी भूमिका निर्वाह गर्दै त्यसको नेतृत्वलाई सबल बनाउनु साधारण विषयचाहिँ होइन। सिंहको सक्रियता र पुलिसिङले स्पष्ट भन्छ, उनी आल्सी नेतृत्व होइनन्, कर्मठ र उदाहरणीय प्रमुख हुन्।

अपराध नियन्त्रण, सहकर्मीका लागि न्याय र सुरक्षामा दृढताका निम्ति एउटा भयङ्कर भोक चाहिन्छ। सहकार्य, सहचारी र नेतृत्वका लागि गहिरो तिर्खा चाहिन्छ। यो भोक र तिर्खाको सही अर्थ आईजी सिंहले दिएका छन्। त्यो संगठनमा अनुभूत पनि भएको पाइन्छ।

संगठनभित्र उनले लिएका निर्णय नै यसका बलिया उदाहरण हुन्। इतिहासमा नै प्रहरी महिला अधिकारीले पाएका जिम्मेवारी र बढुवा भनौं या सहकर्मीले पाएका पदोन्नतीका विषय हुन्। खाली रहेको र सहकर्मीलाई नै पेल्ने संस्कारको आन्तरिक रणनीतिमा सिंह  लागेको देखिँदैन। अब बाँकी रहेका केही सहकर्मीलाई सेवा निवृत्त हुनुअघि उनले बढुवाका लागि सिफारिस गरे भने कसैको मनमा कुनै गुनासो नहुन सक्ने पनि देखिन्छ।

प्रजातन्त्र प्राप्तिपछि तोरण शमशेर जबराबाट सुरु भएको प्रहरी संगठनको संरचनाको विन्दु २९औं आईजीको रुपमा सिंहको सक्रियताको कसीसम्म आईपुगेको छ। ऋब ३०औं प्रहरी प्रमुखको तयारी पनि भइरहेको छ।

नर शमशेर जबरा, ज्ञानबहादुर याक्थुम्बा, गोपाल शमशेर जबरा, पूर्णसिंह खवास, ढुण्डिराज शर्मा, पहलसिंह लामा, रोमबहादुर थापा, खड्गजीत बराल, दुर्लभकुमार थापा, दिलबहादुर लामा, हेमबहादुर सिंह, रत्नशमशेर जबरा, मोतिलाल बोहरा, ध्रुवबहादुर प्रधान, अच्युतकृष्ण खरेल, प्रदीप शमशेर जबरा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरूङ, रमेश चन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर प्रसाद ज्ञावाली र शैलेश थापाले हाँकेको प्रहरी सिंहले सम्हालेको उत्तराधिकार व्यावसायीक भएकाले नै संगठनले गति पाएको छ।

प्रहरीका प्रमुख भएका कतिपय उल्लिखित नामका व्यक्तिका समय कालमा संगठनको छविमा आँच नआएका होइनन् कुनै समय त बदनाम नै भइसकेको थियो। तर त्यस्तो संगठनलाई आजको युगमा नामी बनाएर हस्तान्तरणको अवस्था बनाउन सक्नु आलोचनाहरू चिर्नु नै हो। यस अर्थमा आईजी सिंह एउटा सम्झनालायक नेतृत्व कायम हुने नै छन्।

३६५ दिन केही होइन, यति मात्र दिनमा राज्यले दिएका ठूला जिम्मेवारी र लिन सक्ने चुनौति असाधारण हिसाबले कृष्णको जस्तो सारथी बनेर फत्ते गरिरहेका आईजी सिंहले प्रहरी मुख्यालयबाट बिदाई लिँदै गर्दा सुखानुभूति मात्र होइन, हर्षविभोरता मनभरी लिएर फर्किनेछन्। उनीसँग सम्झनाका बिम्बहरू बलिया हुनेछन्, अनुभवका स्मृति सुगठित रहनेछन्, विल्कुलै।


प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार १२:००

प्रतिक्रिया दिनुहोस्