Logo

१४ मंसिर २०८०, बिहीबार

ध्यान मोड्न सिपालु रवि लामिछानेको राजनीतिक भाष्य र रास्वपाको भाग्य


विनोद ढकाल


मंसिरमा आम निर्वाचनमा मतदान हुँदै गर्दा देशले परिवर्तनका निम्ति रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अनुमोदन गरुन् भन्ने लाग्थ्यो। कोही त परिवर्तनका निम्ति उभिन आवश्यक पर्छ, जनताले रुचाउन सक्ने एउटा व्यक्तिका रुपमा उनको परिचय स्थापित भइसकेको थियो। अझै एक हदसम्म पनि ”मास फ्रस्टेशन”को नेतृत्व उनले गर्नेछन् भन्ने विश्वास पनि छ, तर केही कम प्रतिशतमा।

त्यसबेला के पनि लाग्थ्यो भने मार्टिन लुथर किङ जुनियरले भनेजस्तो ‘एक समय आउँछ जब एक व्यक्तिले त्यस्तो स्थिति लिनु पर्छ जुन न सुरक्षित छ, न राजनीतिक, न लोकप्रिय, तर उसले त्यो लिनुपर्छ किनकि अन्तस्करणले उसलाई यो सही छ भन्छ’ भन्ने पात्र पनि लामिछाने बन्न सक्छन्। जनताले उनको भरमा रास्वपालाई अनपेक्षित मत पनि दिएकै हुन् तर सत्तायात्राका लागि थिएन। जनमतले उनलाई प्रतिपक्षमा बस अनि सत्तालाई प्रश्नमाथि प्रश्न गरी समस्या समाधानका लागि दबाब देऊ भनेको थियो। तर उनी बिनासत्ता र शक्ति बस्न सकेनन्। लामिछानेले यस प्रकरणमा आफूलाई चोख्याउनका लागि ‘सर्भिस डेलिभर’का लागि सत्तामा गएको भनी प्रतिक्रिया दिए। यसमा उनीप्रति आशा राखेका र एउटा साइबर झुन्ड खुशी भयो होला तर स्वच्छ राजनीतिको परिकल्पना, परिवर्तनको परिकल्पना गर्नेले पक्कै पनि ‘गल्ती भयो’ भन्ने स्पष्ट देखेका थिए।

लामिछाने जब नागरिकता प्रकरणमा गल्र्याम्म सत्ताबाट एकै पटक सडकमा पुगे तैपनि उनले सरकारमा जानु गलत थियो भन्ने स्वीकार गरेका छैनन्। उनको यो स्वभाव राजनीतिक पटक्कै छैन्। अहिले पनि चुनावी घरदैलोमा जनताले यहि प्रसङ्गलाई कोट्याउँदा उनी हो, आम जनताले भनेजस्तो गल्ती भएछ सच्याउँछु भन्ने मतमा छैनन्। भनेको सुनिँदैन।

एकपछि अर्को प्रकरणमा उनी र उनको दलका सांसदहरूका नाम बजारीकरण भइरहेका छन्। यसमा गल्ती कहाँनेर भयो भनेर खोजीनीति होइन, अझ ध्यान मोड्नका लागि भावनात्मक चुनौतिका शव्द खर्च गरिरहेका छन्। यो सरासर राजनीतिक होइन। यहि सत्तालाई समर्थन दिएर बसेका छन्। सत्तासँग मन्त्री पदको बार्गेनिङ पटक–पटक भए यसबीच, एकाध करोड बार्गेनिङका कुरा फिक्का हुन सक्छन्।

आफ्नो रोषलाई नियन्त्रण गर्न नसक्ने, धैर्यता र शालिनताले राजनीतिमा परिवर्तन गर्न नजान्ने अनेक प्रकरणमा विस्तारै भासिन्छ। लोकतन्त्रलाई जोगाइराख्ने मिडियामाथि खनिनु उनको गल्ती थियो भन्ने विषयलाई नजरअन्दाज गर्न सकिँदैन। मिडियामा हुँदा राजनीति फोहोर र राजनीतिमा आएपछि मिडिया खराब भन्ने आक्रामक भाष्य सृजना गरेका उनी क्षणिक सफलतामा सत्तामा पुग्लान् परिवर्तन गर्न सक्षम हुनेछन् भन्ने विश्वसनियताको पात्र बन्न सक्नेमा शंका सुरु भइसकेको छ।

काम बिना धन, विवेक बिनाको आनन्द, चरित्र बिनाको ज्ञान, नैतिकता बिना व्यापार, मानवता बिनाको विज्ञान, बलिदान बिना पूजा र सिद्धान्तविहीन राजनीतिको काम हुँदैन भन्ने स्पष्ट नै छ। रास्वपा सिद्धान्तबिनाको म्याराथनमा दौडिरहेको देखिन्छ।

भुइँमान्छेले हिजो माओवादीलाई पनि पत्याएका थिए। तर, जब राजनीतिक शक्ति आर्जन गरी सत्तारोहण लाग्यो अनेक विवादीत व्यक्तिको संगतीमा फँस्यो, सैद्धान्तिक मार्गबाट स्थापित दल त पतनतिर लम्कियो भने सिद्धान्तहिन रास्वपा ढल्न कुनै समय लाग्ने छैन, रवि लामिछानेले राजनीतिलाई जोगाउन सैद्धान्तिक मार्गचित्रको बाटो अबलम्बन गरेनन् भने रास्वपा केही बर्षमा रछ्यानमा पुग्नेछ, त्यसबेला अहिले वाहवाही र महान् भनिरहेका जनताले कान चिरेको जोगी मात्र भन्ने छैनन्, थुक्न सक्छन्। जुन भाष्यबाट रविको उदय भएको थियो, त्यहि दुर्गतिमा क्षति हुने स्पष्ट नै छ। समय रहेका बेला यसको सुधार आवश्यक छ कि छैन? यो प्रश्नको बहसमा रास्वपा सदस्य अगाडि लम्किने समय हो कि होइन? विचार गरुन्।

संगठनको स्थापना व्यक्तिको लोकप्रियताको एउटा कसीबाट भए पनि यसको दीर्घकालिन जीवनचाहिँ लोकतान्त्रिक पद्दती, मान्यता र अभ्यासले मात्र अडिग रहन सक्छ। यसर्थ, प्रजातान्त्रिक प्रणालीबाट देशभर नै ‘बटम टु टप’को नीतिअनुसार अधिवेशन र महाधिवेशन गर्न आवश्यक देखिन्छ। अहिले ‘टप टु बटम’को शैलीमा चलिरहेका कारण चाँडो भन्दा चाँडो दिशा परिवर्तन गरी एउटा लय समात्न रास्वपा सफल बनोस्

इमानदार देखिनका लागि ओठभक्ति होइन, सैद्धान्तिक चरित्रको अनिवार्यता हुन्छ भन्ने विषयको हेक्का राखिएन भने ७० बर्षदेखि चलेको भ्रष्ट राजनीतिक दलदलमा भासिन समय लाग्नेछैन, रास्वपा यहि दलदलको यात्रामा लम्किएको स्पष्ट देखिन्छ, यो दुर्घटना भए जनमतको अपमान मात्र हुनेछैन, मानवीय संवेदना र प्रेमको हत्या हुनेछ। रास्वपाका मतदाताले आत्महत्या गरेको ठान्नेछन्। यसर्थ, रवि लामिछानेले मात्र होइन अब रास्वपाका तमाम नेता अथवा सदस्यले यस विषयमा विचार गर्ने बेला आएको छ।

रास्वपाको अबको बाटो

‘बोरामा एउटा कुहिएको आलु फेला परे त्यसलाई फ्याँकिन्छ’ भन्ने नयाँ भाषाबाट रास्वपाका नेता अहिलेको विवादलाई चिर्न खोजिरहेका छन्। ढाकाकुमार श्रेष्ठ अडिओ प्रकरण एउटा साधारण विषय हो। लामिछानेकै नागरिकता र राहदानीको प्रक्रियागत त्रुटी त राजनीतिमा कति भयानक हुनेरैछ भन्ने उदाहरण चितवन–२ को उपनिर्वाचन होइन र?

पार्टीभित्र रहेका अनेक सदस्यका अनेक कमजोरीले संस्थागत क्षति हुने काम भइरहन्छन्, अबका दिनमा। यसबाट जोगिनका लागि आफ्ना हरेक सदस्यको बिगत र बर्तमानको लेखाजोखा होइन, जोखिमविरुद्ध कसरी उभिने भनेर राजनीतिक स्कुलिङको खाँचो हुन्छ। त्यसका लागि सैद्धान्तिक मार्गचित्र तत्काल कोरेर पार्टी संगठनभित्र नयाँ प्रशिक्षणको खाँचो आवश्यक देखियो। चुनावलाई तत्काल उपयोगको एउटा अवसर मात्र मानेर पहिला त संगठको जीवनलाई बचाउने आधार खडा गर्न रास्वपा तयार हुनुपर्छ। यथास्थितिबाट वास्तविक परिवर्तन राजनीतिज्ञ चुनेर कहिल्यै आउँदैन, विशेष गरी त्यो यथास्थिति कायम राख्न समर्पित राजनीतिक दलको नेतृत्व गर्ने व्यक्तिले होइन। प्रवित्तिमा परिवर्तनले हो। यीनै शक्तिसँग सत्ता साझेदारी गर्नु यथास्थिति हो कि होइन? रास्वपामा अर्को गज्जबको राजनीतिक भाषा पनि देखिन थालेको छ। झूटलाई सत्य, हत्यालाई सम्मानजनक बनाउन र शुद्ध हावालाई दृढताको रूप दिनको लागि डिजाइन गरिए जस्तो भाष्य। यसबाट उम्किन आवश्यक छ।

उपनिर्वाचनको परिणाम जस्तो आए पनि यसपछि रास्वपाले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टीको सैद्धान्तिक स्पष्टता, राजनीतिक मार्गचित्र, संगठन विस्तारको नविनतम अभ्यास, प्रशिक्षण र जनताका सवालमा ध्यान दिनु उचित हुनेछ। तल्लो तहसम्मका जनताको दैलोमा रहेका प्रश्न बोकेर सदनलाई गुञ्जयमान गराउने काम भएन भने कमेरो दलेको गोरुजस्तो केही छिन उफ्रिने, बर्षा भएपछि फेरि थचक्क बस्ने अवस्था हुनेछ। संगठनको स्थापना व्यक्तिको लोकप्रियताको एउटा कसीबाट भए पनि यसको दीर्घकालिन जीवनचाहिँ लोकतान्त्रिक पद्दती, मान्यता र अभ्यासले मात्र अडिग रहन सक्छ। यसर्थ, प्रजातान्त्रिक प्रणालीबाट देशभर नै ‘बटम टु टप’को नीतिअनुसार अधिवेशन र महाधिवेशन गर्न आवश्यक देखिन्छ। अहिले ‘टप टु बटम’को शैलीमा चलिरहेका कारण चाँडो भन्दा चाँडो दिशा परिवर्तन गरी एउटा लय समात्न रास्वपा सफल बनोस्। यसो गरे विवादहरू, अभियोगहरू विस्तारै आफैं केलिँदै जानेछन्।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार १३:००

प्रतिक्रिया दिनुहोस्