Logo

२२ फाल्गुन २०८०, मंगलवार

डाक्टर यामबहादुर रोकाः अब्बल न्युरो सर्जन, मूर्त कवि


नौलो न्यूज


काठमाडौं–न्यूरोलोजिस्टहरू भन्छन्– कि हाम्रो दिमाग अमूर्त विचारहरूको लागि भन्दा कथाहरूका कार्यक्रमले भरिएका हुन्छन्। कथा अर्थात् साहित्यको अङ्ग। यस्तै साहित्यमा मूर्त बाटो हिँडेका एक न्युरो सर्जन नेपथ्यमा नै आफ्ना साहित्य सृजनाका किताबमाथि किताब थपिरहेका छन्।

साहित्य भनेकै अनेक प्रारूपको कथाका रुपमा बुझ्छन् डाक्टर यामबहादुर रोका। उनी बिराटनगरस्थित न्युरो अस्पतालका विभागीय प्रमुख हुन्। उनलाई धेरैले एउटा चिकित्सकका रुपमा चिनिरहेका छन्। तर, उनको फरक आयामको परिचय हो, कवि। उनले कविताका १२ संस्करण प्रकाशित गरिसकेका छन्, १३औंको खेस्रा जारी छ। तर पनि उनका कविता सीमित घेराले पढ्न पाएका छन्। कारण हो, अंग्रेजी भाषामा लेख्छन्।

भनिन्छ कला र साहित्यको कुनै भाषा हुँदैन तर व्यवाहारिक दुनियाँको चर्चामा भने यसले केही न केही असर राखेको ठान्छन्, रोका। भन्छन्,‘नेपाली भाषाका साहित्य अध्ययन गर्ने धेरै भेटिए तर अंग्रेजी भाषाका पाठक अलिक कम मात्र छन् कि जस्तो लाग्छ।’

उनका कवितामा नेपाली माटो अर्थात् जनजीवन, वातावरणदेखिका महत्व झल्किन्छन्। यस्तो विषयबस्तु दुनियाँले जान्ने मौका पाउन् भन्ने धेयका साथ उनी अंग्रेजी भाषालाई रोजीरहेका छन्।

‘हामी शेक्सपियरका कविता पढौं, त्यो समयको महत्व, सांस्कृतिक, सामाजिक विषयबस्तुबारे जानकारी पाउँछौं, यस्तै दुनियाँले पनि सगरमाथाको देश भनेर त चिन्लान् तर यहाँको जनजीवन, वातावरण र सामाजिक परिवेश, सांस्कृतिक अवस्थालाई पनि कविताले चिनुन् भन्ने लक्ष्य हो’, डा. रोका भन्छन्,‘यसमा भाषाको महत्व बलियो किन पनि छ भने अंग्रेजी संसारले बोल्ने र पढ्ने गर्छन्।’

जसरी बिरामीमा आउने चरम आवेगपनलाई समाप्त पार्न पेशामा उनको दृढता छ, आफैंमा आएका संवेदनाका आवेगको मसी कविता लेखेर खर्च गर्दै समाप्त पार्छन्, जहाँ रहरलाग्दो सृजनाको जन्म हुन्छन्

पेशा र साहित्यलाई उनले मूर्त तालमेलमा राखेका छन्। समदूरीमा छन्, डाक्टर रोकाभित्रका दुई दख्खलमा छन्। यसैले नै पेशामा पूर्ण रहेका उनी साहित्यमा पनि निपूर्णताको यात्रामा छन्। भन्छन्,‘यी दुवै विषय मभित्रका रुची हुन्। मानिसमा जे विषयको रुची हुन्छ त्यसमा आफूलाई निरन्तर अनुभवी बनाउँदै लैजान्छ, यसैकारण पनि नेपाली साहित्यलाई, नेपाली अनुभवलाई, नेपाली भावलाई विश्वमा चिनाउन पाए कति राम्रो हुनेथियो भनेर नै कविता अंग्रेजी भाषामा प्रकाशित गर्न थालेको हुँ।’

बागलुङमा जन्मिएका उनी कोशी प्रदेशका जनतालाई बिराटनगरमा रहेर आधुनिक चिकित्सामार्फत सेवा गरिरहेका छन्। उनको काम गर्ने शैली अब्बल छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सेवा दिइसकेका छन्।

एउटा प्राविधिक पक्षको पेशामा लागेका मानिस कसरी कवि बन्न सक्छ? उनी भन्छन्,‘हरेक मान्छेका संवेदनाका फरक पाटा हुन्छन्। अझ मेरो पेशा त मानिसका जीवन र भावनासँग नै जोडिएका हुन्छन्। यसले मलाई लेख्नका लागि अग्रसर बनाउँछ।’

आफ्ना कविताहरूलाई दुनियाँमाझ लगिदिने, त्यो सृजनाको सम्मानमा सहकार्य गरिदिने उनका लागि आवश्यक छन्। उनी खोजीरहेका त छैनन् तर एकदिन कसै न कसैले खोजेर आउनेमा विश्वस्त छन्। सृजनशील जीवनका लागि पत्नीको सहयोगले निकालेको समय वा सोही कारण लेखनमा डुब्ने मौकालाई रोकाले सदुपयोग गर्दै आएका छन्। त्यसैले भन्छन्,‘अनि त मैले लेख्न सक्ने समय भेटेको छु।’

जसरी बिरामीमा आउने चरम आवेगपनलाई समाप्त पार्न पेशामा उनको दृढता छ, आफैंमा आएका संवेदनाका आवेगको मसी कविता लेखेर खर्च गर्दै समाप्त पार्छन्, जहाँ रहरलाग्दो सृजनाको जन्म हुन्छन्। रोका भन्छन्,‘सकारात्मक उर्जालाई किन लाभदायी सृजनाका रुपमा उपयोग नगर्ने? अब यसलाई संसारमा परिचित गराउन हामी पछि पर्न हुन्न, अबको पुस्ता यसैमा भिज्न सक्छ।’

मिडियामा खासै देखा नपर्ने उनी चर्चाशिल्पमा होइन, कर्मशिल्पमा विश्वास गर्छन्। त्यसैले पनि होला उनी एक अब्बल डाक्टरका साथ मूर्त कवि पनि हुन्। ‘अझै म पेशामा पनि र कविता लेखनमा पनि अभ्यासमा नै छु, अभ्यस्त भैसकेको भान हुँदैन’, रोक भन्छन्,‘यात्रा निरन्तर छ, गन्त्वय भेट्न होइन गन्तव्यको खोजीमा नै निरन्तरता चलिरहोस् भन्ने चहान्छु।’


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार १०:०७

प्रतिक्रिया दिनुहोस्