सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च भएको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड छ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
यसअघि कोशी ब्यारेज भएर सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । त्यसपछि आज सबैभन्दा उच्च बहाब हो ।
गएराती १० बजेर २५ मिनेटमा सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड छ लाख २० हजार क्युसेक मापन गरिएको थियो । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।
सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भू–भागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले अनुरोध गरेको छ ।
लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र गाडीलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार ०७:५०