काठमाडौं, असोज १० – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीले बनाएको विधान लोकतान्त्रिक भएको बताएका छन् ।
पार्टीको विधान संशोधन एवं सुझाव सङ्कलन पछि मंगलबार नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विधानमा संविधानका प्रावधान समेटेर त्यसमा महिला प्रतिनिधित्व पनि सुनिश्चित गरेको बताए ।
नेता पौडेलले भने, दलको सदस्य हुनका लागि निश्चित मापदण्ड तोकिनुका साथै समावेशीको सिद्धान्तलाई पनि ध्यान दिएको छ ।
पार्टीका अर्का केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने सबै पार्टीका नेता तथा कार्यकर्ताको सुझाव आएको बताए ।
उनले विभिन्न पाँचवटा समूह बनाएर सुझाव सङ्कलन गरेको बताउँदै कर्णाली प्रदेशमा सङकलन गरिएका सुझावलाई मस्यौदा समितिमा लगिने र त्यहाँ पनि छलफल गरी एकत्रित गराएर आगामी मङ्सिर ५ देखि ९ गतेसम्म हुने महासमिति भेलामा प्रस्तुत गरिने धारणा व्यक्त गरे ।
प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार ११:१३