वि.सं २०३९ सालमा बाग्लुङमा जन्मिएका सम्पन्न श्रेष्ठको बाल्यकालदेखि नै खेलकुदको क्षेत्रमा लाग्ने रुची थियो । ११ वर्षको हुँदा उनले खेलकुद क्षेत्रमा प्रवेश गरेका हुन् । उनलाई खेलकुद क्षेत्रमा लाग्ने प्रेरणा घरपरिवारबाट नै मिल्यो । उनी २५ वर्षदेखि खेलकुद क्षेत्रमा रहेर काम गरिरहेका छन् । यहि मंसिर ३ गते उनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । उनी मोआथाई खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि र सोही खेलको केन्द्रिय कोषाध्यक्ष समेत छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुदको अध्यक्षमा नियुक्त भएपछि श्रेष्ठका अगामी योजना के कस्ता रहेका छन् ? प्रस्तुत छ नौलो न्युजले गरेको कुराकानीको सम्पादित अंशः
खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको छ कस्तो अनुभव गरिरहनु भएको छ ?
एकदमै खुसी लागेको छ । आफुमा थप जिम्मेवारी थपिएको महशुस भइरहेको छ । आगामी दिनमा मैले गण्डकी प्रदेशको खेलकुद विकासका लागि केहि राम्रो काम गरेर देखाउनु छ । मैले यसभन्दा अगाडि पनि विभिन्न संघसंस्थामा रहेर खेलकुद क्षेत्रको विकासका लागि धेरै काम गरिसकेको छु ।
तपाईको कार्यकाल कति वर्षसम्म रहन्छ ?
अहिले यति नै वर्ष भनेर तोकिएको त छैन । अब राष्ट्रिय खेलकुद परिषद्ले नयाँ ऐन ल्याउँदैछ त्यो ऐन आउने बेलासम्म मेरो कार्यकाल रहन्छ । ऐन आएपछि खेलकुद विकास समिति नै हट्छ त्यो ऐन आउने बेलासम्मका लागि मेरो कार्यकाल रहन्छ ।
तपाईको कार्यकाल हुँदासम्म गण्डकी प्रदेशको खेलकुद विकासमा कस्ता परिवर्तन ल्याउनु हुन्छ ?
म बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा लागेको हुँदा पनि मलाई आगामी दिनमा काम गर्न सहज छ । खेलकुदका क्षेत्रमा देखिएका समस्यालाई निर्मुल पार्नका लागि पहिला पनि म लागि परेको थिए र अब त झन् जिम्मेवारी थपिएको छ, समस्या पहिचान गरेर त्यसको समाधानका लागि काम गर्नेछु । पोखरा र कास्कीमा विद्यालयस्तरदेखि विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आवद्ध गराउने मेरो योजना रहेको छ । विद्यार्थीलाई प्रशिक्षक राखेर नै खेलकुद क्षेत्रमा आवद्ध गराउनका लागि राष्ट्रिय खलकुद परिषद्संग आग्रह पनि गर्नेछौ । उत्कृष्ट खेलाडी उत्पादन गर्ने, राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरसम्म नेपालको खेलकुदलाई विकास गर्ने योजना रहेको छ ।
अध्यक्षमा नियुक्त भएपछिको तपाईको पहिलो काम के हुन्छ ?
मैले यसअघि पनि करिब ६ महिना सदस्य पदमा रहेर काम गरिसकेको छु । यसअघि पोखरा रंगशाला भित्रको पानी ब्यवस्थित गरी खेलाडीहरुलाई खानेपानीको व्यवस्था गरेको र अन्य केही पूर्वाधार निर्माणका कामहरु सम्पन्न गराई सकेको छु । अब अध्यक्षमा नियुक्त भइसकेपछि मेरो पहिलो काम भनेको बाग्लुङमा ट्रेनिङ्ग सेन्टर निमार्ण गर्ने रहेको छ । त्यसको लागि बाग्लुङको ढोरपाटनमा ठाउँ समेत हेरेर आइसकेका छौ । अब काठमाण्डौंबाट प्राविधिक टोली (इन्जिनियर) गएर पास गरेपछि हामी निमार्ण कार्यको काम थाल्छौ । त्यहाँको माटो परिक्षण भइसकेको छ । ट्रेनिङ्ग सेन्टर निमार्ण भएपनि देशभरका खेलाडीलाई ट्रेनिङ्ग गर्न सहज हुनेछ । यस ट्रेनिङ्ग सेन्टर निमार्णका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चाँसो देखाउनु भएको छ । यो मेरो कार्यकालको पहिलो काम पनि हो ।
खेलकुद क्षेत्रको विकासका लागि समितिले कस्ता कस्ता योजनाहरु बनाएको छ ?
खेलकुद क्षेत्रमा समितिले बनाएको योजनाहरु धेरै छन् । गण्डकी प्रदेशकालाई खेलकुद पर्यटन वर्षका रुपमा लिएका छौ । उत्कृष्ट खेलाडी उत्पादन गर्नेलगायतका योजनाहरु रहेका छन् ।
खेलकुद क्षेत्रको विकासका लागि सरकारले के गर्न जरुरी देख्नु हुन्छ ?
खेलकुद क्षेत्रमा सरकारले लगानी त गरेको छ तर, छोटो लगानी गरेको छ । बाहिरी देशहरुमा सरकारले खेलाडीहरुको लागि लगानी धेरै गर्छ । त्यसैले खेलकुद क्षेत्रको विकास राम्रो भएको छ । हाम्रो नेपालमा सरकारले खेलाडीहरुमाथि लगानी गर्न सकेको छैन । अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि भविष्य छ । तर, सरकारले खेलाडीमा लगानी नगर्दा यस क्षेत्रमा जो कोही आउने इच्छा राख्दैन । अन्य क्षेत्रमा जस्तै सरकारले खेलकुद क्षेत्रमा पनि बजेट धेरै छुट्याएर खेलाडीको हौसला बढाई दिनसके खेलकुद विकासका लागि धेरै समय लाग्दैन जस्तो लाग्छ मलाई । खेलाडीलाई पनि सरकारले भत्ता र रोजगारीको सिर्जना गरिदिँदा खलकुद विकासका लागि टेवा पुग्छ । खेलाडीको भविष्य सुनिश्चित गर्ने जिम्मा सरकारको हो । त्यसको सरकार संवेदनशील हुन जरुरी छ ।
अन्त्यमा केहि भन्न चाहानु हुन्छ ?
अन्त्यमा मलाई यहाँसम्म पु¥याउनु हुनु सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु । मलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी दिनु भएको छ । त्यो जिम्मेवारी म इमान्दारीताका साथ निभाउने छु भन्न चाहान्छु ।
प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार २१:२१