काठमाडौं । पछिल्लो समयकी निकै चर्चित मोडल तथा नायिका दिपाशा विसी (जलपरी) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जन्मिएकी हुन् । उनले छोटो समयमा कलाकारिता क्षेत्रमा राम्रो फट्को मार्न सफल भइन् । बाल्यकालदेखि नै कलाकारिता क्षेत्रको मोह अलि बढी नै थियो उनमा ।
गीत गाउन, डान्स गर्न, नयाँ बुक पढ्न मन पराउने दिपाशा हिजो आज गीतको म्युजिक भिडियोमा व्यस्त छिन् । पछिल्लो समय चर्चित गीतहरुमा आफ्नो नृत्य र अभिनय गरिसकेकी मोडल तथा नायिका दिपाशा विसी (जलपरी) संग नौलो न्युजले गरेको कुराकानीको सम्पादित अंशः
तपाईको दिनचर्या कसरी चलिराछ ?
मेरो दिनचर्या यस्तै कलाकारिता क्षेत्रमै वितिराछ । म्युजिक भिडियोहरु आइरहन्छन् अहिले त्यसैमा मेरो दिनचर्या वितिराछ । साथै बाहिरका स्टेज प्रोग्रामहरुमा जाने गर्छु ।
अहिलेसम्म कति म्युजिक भिडियोमा खेल्नु भयो ?
अहिलेसम्म खासै गन्ती गरेको त छैन । त्यही ३÷४ सय जति म्युजिक भिडियो भयो होला ।
ठुलो पर्दामा पनि देखिनु भएको छ, कति चलचित्रमा अभिनय गरिसक्नु भयो ?
मेरो कलाकारिता ठुलो पर्दाबाट नै सुरु भएको हो । अहिलेसम्म सात वटा चलचित्रमा अभिनय गरिसकेको छु । अब फेरी ठुलो पर्दालाई नै बिस्तारै निरन्तरता पनि दिँदै छु ।
सानो पर्दा र ठुलो पर्दामा काम गर्दाको फरक के पाउनु भयो ?
फरक त हुन्छ नै । किनकी सानो पर्दामा टिम सानो हुन्छ, काम पनि थोरै नै हुन्छ । ठुलो पर्दामा टिम नै ठुलो हुन्छ काम गर्ने शैली पनि फरक हुन्छ । धेरैदिनमा राम्रो काम दिनु पर्छ । हुन त सबै काम आ–आफ्नो ठाउँमा गाह्रो र महत्वपूर्ण नै हुन्छन् । तर, सानो पर्दामा भन्दा ठुलो पर्दामा काम गर्न अलि गाह्रो नै हुन्छ अनि रमाइलो पनि ।
कलाकारिता क्षेत्रमा किन लागे होला भन्ने लाग्छ कि लाग्दैन कहिले काही ?
मेरो रुची भनेको बाल्यकालदेखि कलाकार बन्ने थियो । आफ्नो रुचीको क्षेत्रमा यसरी रमाउन पाइराखेको छु । असन्तुष्ट हुने कुरै आउँदैन । अर्काे कुरा फेरी कलाकारिता क्षेत्रमा लागेर मलाई मात्र होइन कोही पनि कलाकालरलाई किन लागे होला भन्ने चाँही लाग्दैन होला जस्तो लाग्छ मलाई ।
कलाकारिता पेशा भनेको यस्तो पेशा हो कि जहाँ पैसा, रमाइलो सबै कुराहरु पाइन्छ । देश विदेश घुम्ने, नयाँ कुरा सिक्ने अवसर पनि पाइन्छ । अनि यस्तो रमाइलो क्षेत्रमा किन लागे होला भन्ने त कुरै आउँदैन । आफुले रोजेको क्षेत्र भएको कारणले म धेरै खुसी छु ।
कलाकारिता क्षेत्रमा बाँच्न अलि गाह्रो पनि छ भन्छन् नि ?
भन्नेले त जे पनि भन्छन् । पहिला पहिला थियो होला तर, अहिले त्यस्तो छैन । कलाकारिता क्षेत्रमा बाँच्नै नसक्ने भन्ने नै छैन । तीनै कलाकार देश विदेश घुम्न पाइराखेका छन् । गाडी चढेर हिड्ने थुप्रै कलाकारहरु पनि हुनुहुन्छ । अहिले कलाकारिता क्षेत्रको विकास पनि धेरै भएको छ । पहिले कलाकार थोरै थिए । स्टेज प्रोग्राम पनि हुँदैन थिए । अहिले त कति कलाकारहरु स्टेज प्रोग्रामबाटै बाँचिरहेका छन् । स्टेज प्रोग्रामले कलाकारको व्यक्तित्व विकास पनि भएको छ । त्यसैले पनि सहज छ ।
कसको प्रेरणाबाट कलाकारिता क्षेत्रमा लाग्नुभयो ?
कलाकार बन्ने मेरो बाल्यकाल देखिको सपना थियोे । साथै मलाई मेरो ममी, परिवार र मेरो गुरु कुलमान नेपाली सरले धेरै नै साथ दिनु भयो । उहाँहरुको माया, हौसला र सहयोगले नै आज म यहाँसम्म आइपुगेको छु ।
नायिका बन्नलाई अश्लिल बन्नु पर्छ भन्छन् नि ?
त्यो त आफु कस्तो बन्ने भन्ने आफुमा भर पर्छ । आफु अश्लिल बन्ने कि नबन्ने भन्ने कुरा आफुले निर्धारण गर्ने कुरा हो । अश्लिल भएर मात्र चल्ने र चलचित्रमा अवसर आउने भन्ने पनि हुँदैन । राम्रो क्यारेक्टरका चलचित्र आफुले छानेर खेल्ने हो । राम्रो कामको मुल्यांकन अलि ढिलो नै हुन्छ । अश्लिल भएर हिट हुँदा चरित्रसंगै बदनाम पनि भइन्छ । लोकप्रिय र हिट हुनका लागि अश्लिल हुनु नै पर्छ भन्ने मलाई लाग्दैन ।
कतिपयले त चर्चित हुनलाई अश्लिल पनि हुनु भएको छ त्यसेले हाम्रो समाजमा विकृति पनि ल्याएको छ । कलाकार भनेको छ समाजको ऐना हो । हामीले त समाज परिवर्तनका कुरामा जोड दिनु पर्छ । त्यसैले मलाई यो कुरामा विश्वास लाग्दैन कि मैले पनि अश्लिल भएर चर्चा कमाउनु पर्छ भन्ने । मैले अहिलेसम्म त्यस्तो अश्लिल कुनै पनि चलचित्र वा म्युजिक भिडियो पनि खेलेको छैन ।
तपाईले मोडलिङ गरेको सबैभन्दा चर्चाको गित कुन हो ?
मैले मोडलिङ गरेको सबैभन्दा चर्चा पाएको हेमन्त शिशिरको ‘तिमी थोरै रिसाएनी यो मन साह्रै रुन्छ….’ भने गीत हो । जसले मलाई धेरै चिनाएको थियो । मलाई यो गीत साह्रै मन पनि पर्छ ।
https://www.youtube.com/watch?v=FAze-eyu0lw
विहे कहिले गर्ने योजना छ त ?
हा. हा. हा.. विहे भन्ने कुरा त माथिबाटै भगवान्ले जोडी बनाएर पठाउनु भएको हुन्छ रे । अब भगवान्ले पठाउनु भयो र लगन आयो भने होला नि ।
तपाईलाई कस्तो केटो भए जीवन काट्न सकिन्थ्यो जस्तो लाग्छ ?
अब यस्तै भन्ने त छैन मलाई माया गर्ने होस् र मेरो कलाकारिता क्षेत्र बुझ्ने खालको होस् यति भएपछि पुग्छ होला ।
अन्त्यमा के भन्नु हुन्छ ?
तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद । अनि मलाई माया गर्ने दर्शक, स्रोतालाई अझै धेरै माया गर्नुस् भन्न चाहान्छु ।
प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार १६:३४