Logo

१४ मंसिर २०८०, बिहीबार

टेप रेकर्डले बदलियो मेरो जिन्दगी


नौलो न्युज


काठमाडौं – वि.सं. २०४६ साल जेठ १५ गते ढाकाडाम २ भालुखोला सल्यानमा जन्मिएका रामु खड्काको नाम अहिले गीत संगीतको क्षेत्रमा धेरै अगाडी आउँछ । खड्का विगत ११ वर्षदेखि कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका छन् । उनको कलाकारिता २०६४ सालदेखि सुरु भएको हो । उनको सांगीतिक यात्राका विषयमा नौलो न्युजले गरेको कुराकानीको सम्पादित अंशः 

हिजो आज के मा व्यस्त हुनुहुन्छ ?

गीतसंगीत मै विति राछ भन्नु प¥यो । आफ्नै कम्पनी मालती डिजिटलबाट गीतहरु बजारमा ल्याउने काम भइरहेको छ । अबको केहिदिनमा विष्णु माझीको स्वरमा रहेको ‘लयो पराईले…’  र ‘पार्सपोर्ट…’ गीत बजारमा ल्याउने तयारीमा छौँ ।

बाल्यकाल कसरी बिताउनु भयो ?

बाल्यकाल त गाँउमा नै बित्यो । गाउँमा जन्मेको मान्छे घाँस, दाउरा, कुटो, कोदालो, गाई, भैसी  चराउने, जंगल जाँदा गीत गाँउने यसरी नै बित्यो ।

गीत संगीतको क्षेत्रमा कसरी आउनुभयो ?

बाल्यकालदेखि नै मेरो रुची गीत संगीतमा लाग्ने थियोे । गाँउघरमा कुनै पूजाआजा हुँदा रातभरी दोहोरी गाउने, स्कुलका कार्यक्रम हुँदा पनि गीत लेख्ने गर्थैँ। मेरो गीत सुनेका जतिले राम्रो छ यसै क्षेत्रमा लागिराख भन्थे । अनि त्यस्तै त्यस्तै गर्दै कलाकारिता क्षेत्रमा प्रवेश गरेँ । संगीत क्षेत्रमा लाग्ने उद्धेश्यले म २०६४ सालमा काठमाडौ आएँ । आफुले सानैदेखि देखेको सपना, रहर पुरा गर्न काठमाडौंमा मैले धेरै नै संघर्ष पनि गरेँ । अहिले सफल पनि भएको छु । खुसी पनि लाग्छ । 

घरपरिवारको साथ सहयोग कत्तिको पाउनु भयो ?

वास्तवमा भन्नु पर्दा मलाई मेरो घरपरिवारको सुरुमा सहयोग थिएन । घरबाट त कलाकारिता क्षेत्रमा लागेर के पाइन्छ र ? नलाग भन्नु हुन्थ्यो । मेरो सपना भने संगीतकार बन्ने नै थियो । परिवारले साथ नदिने बुझे पछि मैले यसो सोचे अब घरमा सिधै भन्न पनि सकिँदैन । त्यसैले मैले मेरो गीतसंगीतमा लाग्ने चाहना रहेको भन्दै टेपमा रेकर्ड गरेँ र मलाई नरोकिदिनुहोला भन्दै गीत पनि गाएँ । एक दिन सबै परिवार एकै ठाउँमा भएको बेला सुन्नुस् भनेर म बाहिर निस्केँ । त्यो टेप रेकर्ड सुनेपछि घरपरिवारले मेरो इच्छा बुझ्नु भयो र मलाई कलाकारिता क्षेत्रमा लाग्न रोक्नु भएन । र म ढुक्कसँग लाग्न सकेँ । अहिले घरपरिवार सबैको सहयोग र साथ पाएको छु ।

संगीतकार बन्न के कुराले प्रेरणा दियो ?

मेरो जीवनमा मलाई संगीतमा लाग्नु पर्छ भनेर हौसला दिने यहि व्यक्ति वा पक्ष त छैनन् । तर मेरो गाउँ, समाज, घरपरिवार, साथीभाई, विद्यालय, मेरा गुरु अनि म हुर्केको वातावरण नै मेरो प्रेरणा हो ।

तपाइको बिचारमा लोकगीत संगीत भनेको के हो ?  

नेपालको लोक संस्कृति भित्र रहेर, लोक लयमा आधारित पंञ्च गीतहरु लोक गीत संगीत हुन् जस्तो लाग्छ ।

अहिलेसम्म कति गीतमा संगीत दिनु भयो ?

अहिलेसम्म करिव एक हजार गीतमा संगीत दिइसकेको छु । पहिला पहिला कति गीतमा संगीत दिएँ भन्ने रेर्कड राख्थेँ । तर, अहिले त्यो सबै रेर्कड राख्न अलिक गाह्रो भयो । मैले संगीत गरेको गीत साथी बनेर, मर्ने मिति, सनियती, रोयर हेर, सजीवन बिमा, एउटै धरातलमा, आज भन्दा भोलि माया, एकादेशको कथा, तिम्रै यादमा, अब त पागल भै लगायत धेरै नै छन् । कति जति रे ? भनेर गनेको चाँही छैन । मैले पहिलो गीत आफ्नै लगानीमा ‘दुख पाइछेउ रे..’ भन्ने बजारमा ल्याएँ । पहिलो पटक मैले लय गरेको गीत ‘साथी बनेर…’ भन्ने हो जुन गीत बाट मैले पहिलो पटक अवार्ड पनि जितेको थिएँ । यसै गीतले मलाई बढी चर्चामा पनि पु¥यायो ।

कलाकारिता क्षेत्रमा जीवन कत्तिको सहज छ ?

कलाकारितामा बाँच्न निकै सजिलो छ । तर, स्थापित हुनु भन्दा पहिला निकै दुख गर्नु जरुरी छ । परिवार अनि समाजको साथ नहुँदा भने धेरै गाह्रो छ । जुन मैले पनि अनुभव गरिसकेको छु । सुरुवातमा मलाई पनि स्थापित हुन निकै गाह्रो भयो । तर अहिले रमाईलो लाग्छ । कलाकरितामा लागेर बाँच्न सहज छ । तर निरन्तर र आफुसँग राम्रो कला हुन जरुरी छ । म त यहि पेसाबाट बाँचेको छु आजसम्म । यो क्षेत्रमा लागेको ११ बर्ष भइसकेको छ ।

गीतसंगीत क्षेत्रमा विकृति फैलनबाट कसरी रोक्न सकिन्छ ?

अहिले यो क्षेत्रमा विकृति छिरेको छ । तर, यसलाई निरुत्साहित गर्न हामी र हाम्रो संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लागेका छौँ । सबै मिले रोक्न सकिन्छ ।

गीतसंगीत क्षेत्रमा तपाईको नाम किन अघि आउँछ ?

यो त दर्शक स्रोताको माया हो । गीतमा संगीत गर्दा मान्छेको मन मस्तिष्क छुने हुनुपर्छ । दर्शक स्रोताले मेरा सृर्जनालाई मन पराईदिनु हुन्छ, त्यसैले होला ।

तपाईले संगीत गर्नुभएको गीतबाट रोयल्टी लिनुभएको छ ?

रोयल्टी बुझेको छु । म एउटा कलाकार हुँ । आफ्नो गीतको रोयल्टी त बुझ्नै प¥यो । यसको आवश्यकता पनि छ । म अन्य कलाकारहरुलाई पनि सुझाव दिन चाहन्छु कि आफ्नो गीतको रोयल्टी लिनुस् भनेर ।

तपाईको भावि योजना के छ ?

मेरो भावि योजना स्पष्ट छन् । म एउटा कलाकार हुँ र कलाकारिता क्षेत्र नै मेरो जिन्दगी हो । यहि क्षेत्रमा लागेर अझै केहि गरौँ भन्ने योजना छ ।  मेरो जिन्दगी कलाकारिता क्षेत्रबाटै सुरु भएको हो र अन्त्य पनि कलाकारिताबाटै हुन्छ । एउटा राष्ट्रको कलाकार हुँ मैले राष्ट्रको कला संस्कृतिलाई जोगाउनका लागि केहि गर्नु छ । म बाँचुञ्जेलसम्म मेरा सृजना दर्शक स्रोतामा पु¥याउन सदैव लाग्नेछु ।

अन्त्यमा केहि भन्न चाहनु हुन्छ ?

अन्त्यमा मेरा विगत, वर्तमान, भविष्यका बारेमा यसरी बोल्ने मौका दिनुभएकोमा नौलो न्युजलाई धन्यवाद दिन चाहन्छु । मेरा सम्पूर्ण दर्शक स्रोताले मलाई धेरै माया गरिदिनु भएको छ । मेरो गीतसंगीतलाई रुचाई दिनु भएको छ त्यसको लागि धेरै धेरै आभार प्रकट गर्छु । र आगामी दिनमा पनि मेरो सृजना गीतसंगीतलाई यसरी नै माया गरिदिनु होला भन्न चाहन्छु ।


प्रकाशित मिति: २५ मंसिर २०७५, मंगलवार १५:३८

प्रतिक्रिया दिनुहोस्