Logo

१६ चैत्र २०८०, शुक्रबार

रेखा भन्छिन्-‘तीजको बहानामा रमाइलो गर्दा किन यत्रो आपत्ति ?’


सुजन श्रेष्ठ


काठमाडौँ

महिलाहरुको महान चाड हरितालिका तीज सँघारमै आइसकेको छ । महिलाहरु हरितालिका तीजलाई प्रेम र समर्पणको पर्वको रुपमा मनाउछन् । विवाहित नारीहरुले श्रीमानको दिर्घायुको लागि र अविवाहितहरुले असल श्रीमान् पाउँ भनेर ब्रत बस्ने गरेका छन् ।

महिलाहरुले पानी पनि नखाइ लिने यो व्रतप्रति महिलाहरूको बढ्दो आकर्षण छ । यसले उनीहरू प्रेम र ममताका लागि कति संवेदनशील र त्यागमयी हुन्छन् भन्ने कुरा पनि स्पष्ट पार्छ । एक्काइसौँ सताब्दिका महिलाहरुको बाहिरि आवरण फरक भएपनि भित्रि रुप भने एउटै हुन्छ । महिलाहरु त्याग गर्न सक्ने, ममताको खानि, सहनशील हुन्छन् ।

हुन त तीजले श्रीमान-श्रीमतीबीचको सम्बन्धलाई सुमधुर बनाउँछ भन्ने मान्यता छ । तर, अहिले धेरैले आफ्नो रहरले मात्र ब्रत बस्ने गरेका छन् । यो पर्व श्रीमान-श्रीमती बीचको प्रेमको प्रतीक भएकोले यसमा माहिलाले आफुलाई शृंगार गरेर सजाउने गरेका छन् ।

तर, श्रृंगारको नाममा अनावश्यक गहना प्रदर्शन र प्रतिस्पर्धालाई बढावा दिरहेको भन्ने आरोप लाग्ने गर्छ महिलाहरुलाई । तीजको मूल मर्मलाई बुझेर यसलाई सभ्य र शालिनता पूर्वक मनाउनुपर्छ भन्ने महिलाहरुकै मान्यता छ । तर, अहिले तीज एक महिना अगाडि देखि मनाउने, दरका नाममा मदिरा सेवन गर्ने, भद्दा हर्कत गर्ने बढ्दो छ । त्यसैले तीजमा विकृति छिर्यो भनेर पनि भन्ने गरिन्छ ।

तीजमा छिरेको विकृतिकै बारेमा हामीले अभिनेत्री तथा नेत्री रेखा थापासँग कुराकानी गरेका थियौं । तीजमा छिरेको विकृतिलाई रेखाले विकृतिको रुपमा भने लिन्नन् । उनि भन्छिन्-‘३६५ दिन पुरुषले रक्सि खाएर हिड्दा चाहि केहि नहुने अनि महिलाले परम्पराको बहानामा चुलो-चौको छोडेर १०-१५ दिन रमाइलो गर्दा यत्ति ठुलो आपत किन यो समाजलाई ?’

स्वतन्त्रताको नाममा विकृति फैलियो नि भन्ने प्रश्नमा रेखाले विमत्ति जनाईन् । ‘कमसेकम महिलाहरु विद्रोह गरेर घर बाहिर आउने अभ्यास त गरिरहेका छन् । यो चाडलाई महिलाहरुले आधुनिक ढंगबाट हर्ष उल्लासका साथ् मनाइरहेका छन् के बिग्रियो त ?’ भन्ने प्रश्न गर्दै उनले भनिन्-‘यो पर्वलाई महिलाहरुले रमाइलो गरेर मनाउदा कसैको टाउको नदुखे हुन्थ्यो ।’

‘बर्षौं वर्ष देखि महिलाहरु समाजकै नियममा बाच्नुपर्ने ? समाजलाई जे ठिक लाग्छ त्यहि गर्दिनुपर्ने ?’ रेखाले प्रश्नहरु वर्षाउन थालिन् । उनीभित्र थोरै आवेग पनि थियो । आवेगमै उनले भनिन्-‘महिलाहरु पनि मान्छे हो नि । महिलाहरुले बल्ल बल्ल मान्छे बन्ने तालिम लिरहेका छन् । समाजले त महिलालाई जहिल्यै पनि आफ्नो नियममा बाध्न खोज्छ ।’

रेखाले हामि सँग कुरा गर्दै समाजको नियममा नबाधिकन रमाइलो गर्न आग्रह गरेकी छिन् । आयातित धर्म संस्कृतिले हस्तक्षेप गर्न नसकेको संदेश पनि तिजको माहोलले देखाउने रेखाको भनाई छ ।

रेखाले नेपाली महिलाहरुलाई तीजको शुभकामना दिँदै महिलाहरुलाई आत्मानिर्भर बन्ने अभियान चलाउन समेत आग्रह गरेकी छिन् । ‘हामि आर्थिक रुपमा कमजोर भएकाले महिलाहरुले विकृति ल्याए भनेर आरोप लाएका हुन् । श्रीमानको भरमा, बुवाको भरमा, दाजुको भरमा बाच्न छाड्नु पर्छ । महिलाहरु आत्मानिर्भर हुनुपर्छ’-रेखाले भनिन् ।

रेखाले सबै महिलाहरुलाई तीजको शुभकामना पनि दिईन् । यो पटक रेखा पनि तीजको ब्रत बस्दैछिन् । ब्रत बस्नुलाई पनि रेखाले सकारात्मक रुपमा नै लिने गर्छिन् । ‘श्रीमानको लागि कि आफ्नो लागि ?’-भन्ने हाम्रो प्रश्नमा रेखाले भनिन्-‘धर्म र परम्परा अनुसार जे भनिएको छ त्यसलाई पनि मध्यनजर गर्दै आफ्नो लागि पनि बस्छु । ब्रत बस्नु आफैमा पनि सारीरिक र मानसिक रुपमा फाइदाजनक नै हुन्छ ।’


प्रकाशित मिति: १२ भाद्र २०७९, आईतवार १९:१३

प्रतिक्रिया दिनुहोस्