काठमाण्डौ – बलिवुड अभिनेता शाहरुख खानले ३० वर्षपछि ‘जवान’ मार्फत पहिलो पटक ‘नेशनल फ्लिम अवार्ड’ जित्न सफल भएका छन्। तीन दशकभन्दा लामो करिअरमा अन्तत उनले महत्वपूर्ण अवार्ड हात पार्न सफल भए।
बलिउड बादशाहको रुपमा छवि बनाएका शाहरुख खानले आफ्नै हातमा पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ अभिनेताको ट्रफी जित्न सफल भए।
उनको जीतमा खुशी व्यक्त गर्दै श्रीमती गौरी खानले इन्स्टाग्राममा राष्ट्रिय पुरस्कार जितेकोमा बधाई दिंदै यो अद्भुट्ट यात्रामा उनी यो उपलब्धिको हकदार भएको बताइन्। उनले भनिन् ‘यो तपाईंको वर्षौंको मेहनत र समर्पणको नतिजा हो। अब म यो पुरस्कार राख्न विशेष म्यान्टल डिजाइन गर्दैछु।’
७१औं राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा उनलाई यो सम्मान प्रदान गरिएको थियो। सन् २०२३ को ब्लकबस्टर फिल्म ‘जवान’ मा दिएको दमदार अभिनयका लागि खानलाई यो पुरस्कार दिइएको हो। उनले यो सम्मान ‘ट्विल्थ फेल’ फिल्ममा अभिनय गरेका विक्रान्त म्यासेसँग साझा गरे। गत महिना निर्णायक मण्डलले पुरस्कारको घोषणा गरेको थियो।
महान अभिनेता, निर्देशक र निर्माता मोहनलाललाई चलचित्र क्षेत्रमा पुर्यातएको योगदानको कदर स्वरूप दादासाहेब फाल्के पुरस्कार प्रदान गरियो। ७१औं राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा फिचर तथा गैर-फिचर चलचित्रका विभिन्न विधामा सम्मान प्रदान गरिएको छ।
फिचर चलचित्रतर्फ, ‘मिसेस चटर्जी भर्सेस नर्वे’ का लागि रानी मुखर्जीलाई सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्रदान गरियो। आसामका उत्पल दत्तलाई सर्वश्रेष्ठ चलचित्र समीक्षक घोषित गरियो भने ‘द केरला स्टोरी’ का लागि सुदिप्तो सेनले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार पाए। यही चलचित्रले सर्वश्रेष्ठ छायाङ्कनको अवार्ड पनि जित्यो।
विधु विनोद चोपडाको ‘ट्विवेल्थ फेल’ ले सर्वश्रेष्ठ फिचर चलचित्रको अवार्ड जित्यो भने करण जोहरको ‘रकी और रानी की प्रेम कहानी’ ले सम्पूर्ण मनोरञ्जन प्रदान गर्ने सर्वश्रेष्ठ लोकप्रिय चलचित्रको पुरस्कार हात पार्यो। यसै चलचित्रको गीत ‘ढिन्डोरा बाजे रे’ का लागि सर्वश्रेष्ठ कोरियोग्राफीको अवार्ड पनि प्रदान गरियो।
सर्वश्रेष्ठ एक्सन निर्देशनको पुरस्कार ‘हनुमान’ (तेलुगु) लाई प्रदान गरियो भने सर्वश्रेष्ठ गीतकारको अवार्ड ‘बालगम’ (तेलुगु) ले जित्यो। क्षेत्रीय सिनेमालाई पनि सम्मान गर्दै ‘भगवन्त केसरी’ लाई सर्वश्रेष्ठ तेलुगु चलचित्र, ‘वाश’ लाई सर्वश्रेष्ठ गुजराती चलचित्र, ‘पार्किङ’ लाई सर्वश्रेष्ठ तमिल चलचित्र र ‘द रे अफ होप’ लाई सर्वश्रेष्ठ कन्नड चलचित्र घोषित गरियो।
सङ्गीत विधातर्फ, ‘जवान’ को गीत ‘छलिया’ का लागि शिल्पा राव सर्वश्रेष्ठ महिला पार्श्व गायिका घोषित भइन् भने ‘बेबी’ (तेलुगु) को गीत ‘प्रेमीस्थुन्ना’ का लागि सर्वश्रेष्ठ पुरुष पार्श्व गायकको पुरस्कार प्रदान गरियो। ‘साम बहादुर’ ले सर्वश्रेष्ठ मेकअप तथा पोसाक डिजाइनको अवार्ड जित्यो। त्यसैगरी, ‘एनिमल’ ले सर्वश्रेष्ठ साउन्ड डिजाइनको पुरस्कार पायो भने यसै चलचित्रका रि-रेकर्डिङ मिक्सर एम. आर. राधाकृष्णनलाई विशेष उल्लेख (स्पेशल म्यानसन) प्रदान गरियो।
गैर-फिचर चलचित्र खण्डमा, ‘गड, भल्चर एन्ड ह्युमन’ ले सर्वश्रेष्ठ डकुमेन्ट्रीको अवार्ड जित्यो। ‘द सी एन्ड सेभेन भिलेजस्’ (ओडिया) र ‘नेकल: क्रोनिकल अफ द प्याडी म्यान’ (मलयालम) ले संयुक्त रूपमा सर्वश्रेष्ठ चलचित्रको पुरस्कार पाए। ‘सनफ्लावर भेर द फर्स्ट वान टु नो’ (कन्नड) लाई सर्वश्रेष्ठ पटकथाको पुरस्कार प्रदान गरियो भने ‘द फर्स्ट फिल्म’ (हिन्दी) ले सर्वश्रेष्ठ सङ्गीत निर्देशनको अवार्ड जित्यो।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार ०७:५७