काठमाण्डौ – चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा झन्डै चार लाख वर्ष अगाडि नै फरक समूहहरूमा विभाजित भइसकेका थिए ।
यो प्रक्रिया अफ्रिकाभन्दा एसियामा शुरू हुन सक्ने सङ्केत देखिएको छ । युन्जियन–२ नाम दिइएको खोपडी सुरुमा होमो इरेक्टसको अवशेष मानिएको थियो । तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू देखाएको छ । यसले मानव विकासमा धेरै पहिले नै जटिलता सुरु भएको हुनसक्ने तर्कलाई बल दिएको छ ।
लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार झण्डै १० लाख वर्षअघि नै हाम्रा पुर्खाहरू विभिन्न समूहमा विभाजित भइसकेका थिए । जुन पहिलेको अनुमानभन्दा धेरै पहिले भएको कुरा हो । यस्तै परम्परागत रूपमा प्रारम्भिक मानवहरूको उत्पत्ति र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ । तर यो नयाँ निष्कर्षले प्रश्न उठाएको छ ।
ग्रिफिथ विश्वविद्यालयका माइकल पेट्राग्लियाका अनुसार पूर्वी एसिया मानव विकासको केन्द्र रहेको देखिन थालेको छ । साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानले खोपडीलाई एक सयभन्दा बढी अरु नमूनासँग तुलना गरेको थियो ।
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार ०८:२८